शिव शर्मा
भाद्र १६, २०६८, कोसेली
काठमाडौ — धेरैजसो स्थापित रंगकर्मीहरू लाखापाखा लागेपछि पोखराको रंगकर्म सुस्ताएको अनुभूति गर्न थालिएको छ ।
केहीअघि चित्रकार वात्सायन (दुर्गा बराल) आप्नो घरछेउको एउटा पुरानोजस्तो लाग्ने भवनमा भेटिए । भवनको बाहिरपट्ट िएउटा खुइलिन लागेको साइनबोर्ड टाँगिएको थियो, जसमा लेखिएको थियो, ’प्रतिबिम्ब नाट्यशाला’ । भवन भित्रको कुनामा नाटकका सेटमा प्रयोग हुने सामान थुप्रयाइएको थियो ।
त्यो बिहान बराल त्यही हलमा बसेर क्यानभासमा एकचित्त भइरहेका थिए । खासमा यो भवन उनले छोरा अनुप बरालका लागि बनाएका थिए । करिब तीन वर्षजति अनुपले यसको उपयोग पनि गरे । ’अनुप संघर्षका लागि राजधानी हिँड्यो अहिले मैले यसलाई उपयोगमा ल्याउन कला कार्यशाला कक्ष बनाएको छु,’ उनले भने ।
यो एउटा उदाहरण हो । फेवा नगरीमा नाटक सुस्ताएको उदाहरण । ’मोफसलमा धेरै कर्म गरियो अनुपले पोखरा छोड्नुको कारण बताए ’रंगकर्म गर्न मुस्किल भएकाले, केही गरौ भनेर राजधानी छिरे ।’
०४७ सालमा उनको अगुवाइमा ’प्रतिविम्ब’ नाट्य समूह पोखरा स्थापित भएको थियो । अनुपले अन्तिमपटक पोखरामा सात वर्षअघि सरुभक्तको नाटक ’थाङला’ मञ्चन गरेका थिए । त्यसयता पोखरामा रंगमञ्च सुस्ताएको अनुभव धेरैले गरेका छन् ।
लेखक, साहित्यकार सरुभक्त पोखरामा नाटकलाई जीवन्त बनाउने अर्का पात्र हुन् । थुप्रै चर्चित नाटक लेखेका उनी केहीअघिसम्म अभिनय पनि गर्थे । २०५० सालमा मञ्चित नाटक ’ताण्डवनृत्य’ मा उनले अभिनय र निर्देशन गरेका थिए । लेखनका अन्य विधामा हुत्तिएपछि भने उनलाई आफूले रंगकर्मबाट सन्न्यास लिएको भान भएको छ ।
पछिल्लोपटक राजधानीमा आफूले लेखेको ’मलामी’ नाटक हेरेका उनलाई पुराना दिनको याद आयो । ’हामी कहाँ कलाकारको कमी छैन तर रंगमञ्चीय चहलपहल सेलायो सरुभक्त भन्दै थिए, ’नयाँ पुस्ताले अब केही गर्छन् कि भन्ने आशा छ ।’ उनले ०३५ सालमा युवा नाटक समूह पोखरा गठन गरी ४२ सम्म लेखन निर्देशन दुवै गरे । ५० को दशकसम्म फाटफुट चलेको यहाँको रंगमञ्चीय गतिविधि ६० को दशकपछि भने शून्यप्रायः नै बन्यो ।
३० को दशकपछि पोखराको नाट्य गतिविधिले तीव्रता लिएको मानिन्छ । ०३५ मा पोखरेली युवा सांस्कृतिक परिवारको स्थापना भएपछि नाटक प्रदर्शनको एउटा लहर नै चल्यो । सोही वर्ष सरुभक्तकै अगुवाइमा युवा नाट्य परिवार पोखराको स्थापना भयो ।
सरुभक्त नाटक लेखन तथा निर्देशन दुवै गर्दथे । समूहमा थिए उषा शेरचन, राजेन्द्र बजिमय, शंकराज श्रेष्ठ, आनन्द श्रेष्ठ, अजुनजंग शाही, तीर्थ श्रेष्ठ र प्रकट पँगेनी शिव । नियमित रूपले यो जमातले पोखरामा नाटक देखायो । यथार्थवादी, समस्यामूलक र प्रयोगात्मक नाटकहरू पोखराबाहिर धेरै ठाउँमा देखाएर राष्ट्रिय पहिचान दिए । पहिलोपटक यहाँ ०३५ मा देखाएको ’एउटा घरको कथा हैन’ नामक पूर्णांकी नाटक हो । त्यसपछि ’युद्ध उही ग्यास च्याम्बरभित्र’, ’सराप परेको घर’, ’गोलार्द्धको ठूलो आकाश’,
’यामभरिको सपना’, ’ताण्डवनृत्य’, ’जिउँदो अवशेष’ जस्ता डेढ दर्जन नाटकहरू मञ्चन भए ।
यो संस्था ०४१ सम्म सक्रिय थियो । यही समूहसँगै स्थापना भएको डाफे कला मन्दिरले पनि यहाँको रंगमञ्चलाई ऊर्जा दिने काम गर्यो । संस्कृतिकर्मी स्वर्गीय मीनबहादुर गुरुङ (डाफे बूढा)ले आप्नै लगानीमा बगरमा नाट्यशाला बनाए । डाफे कला मन्दिरले प्रस्तुत गरेको ’मातृभूमिको व्यथा’ नाटक उतिबेला निकै चर्चित रह्यो । प्रज्ञा प्रतिष्ठानमा समेत मञ्चित भएर यो नाटकले ०३८ मा उत्कृष्ट नाटकको राष्ट्रिय अवार्ड पनि जितेको थियो । सात वर्षसम्म लगातार दुई दर्जन नाटक मञ्चन गर्यो डाफेले ।
४० को दशकपछि यहाँका केही जागरुक युवाहरू अनुप बराल, प्रकाश घिमिरे मिलेर ’प्रतिविम्ब नाट्य समूह’ स्थापना गरे । जसको सल्लाहकार निर्देशक थिए सरुभक्त । सुरुमा सरुभक्तले नाटकको निर्देशन गरेपछि अनुपले त्यसलाई निरन्तरता दिए । यो समूहले ’मलामी’, ’मलामीहरू’, ’थाङला’, ’सिरुमा रानी’ आदिले देश विदेशमा समेत चर्चा बटुले । दीर्घजीवी नाट्य समूह, ओम शिव कला मन्दिर, क्षितिज नाट्य परिवार, जमर्को प्रतिभा समूह, उदय प्रतिभा कला समूह आदि समूहले पनि यहाँको रंगमञ्चलाई माथि उचाले । ३०, ४० र ५० को दशकमा जति नाटक गतिविधि भयो त्यसपछि भने यहाँको रंगमञ्च थला परेजस्तै भयो ।
पछिल्लो केही समय फिल्म अभिनयमा बढी देखिएका अनुप अहिले फेरि नाटकतिर फर्केका छन् । ’पोखरामै नाटक गर्ने योजना छ,’ पोखरामा रंग उत्सव गर्ने रहर भएको पनि उनले सुनाए । अनुपका अलावा नाटक र टेलिफिल्ममा नाम कमाएका उनका सहकर्मी, प्रकाश घिमिरे, फिल्म हिरो एवं अतिरिक्त प्रहरी महानिरिक्षक अर्जुनजंग शाहीजस्ता कलाकार पनि कुनैबेला पोखराको रंगमञ्चमा सक्रिय थिए ।
टेलिसिरियलका कलाकार राजु याक्चा, फिल्म निर्देशक एवं अभिनेता माओत्से गुरुङ, सुरज आरडी, मोहनसिंह खड्का, हेमन्त पराजुली, कृष्ण उदासी, सविता गुरुङ, लालसोभा गुरुङ, प्रमिला तुलाचन, श्याम अर्याल, घनश्याम लामिछाने, विष्णु गौतम आदिले रंगमञ्चमार्फत नै आफूलाई चिनाए ।
किन सेलायो ?
टेलिभिजन र फिल्म निर्माणको बढोत्तरीसँगै कलाकारहरूलाई यी विधाले धेरै तान्न थाले । जसका कारण पोखरामात्र नभई देशका अन्य सहरबाट पनि कलाकारहरू काठमाडौं सोझिन थाले । पोखराका सन्दर्भमा चाहिँ गतिलो नाट्यशालाको अभाव पनि अर्को कारण बन्यो । भाषण गर्ने हल र गोदाममा नाटक देखाउनु पर्ने बाध्यताले कलाकारहरूलाई दिक्क बनायो । केही भने व्यक्तिगत र पारिवारिक कारणले पनि रंगमञ्चबाट टाढा भए ।
नाट्य समूहलाई सहयोग गर्ने संघ संस्थाको अभाव सधंै भइरह्योे । रंगमञ्च गरेर बाँच्ने अवस्था कम हुँदै गएपछि यहाँ आठ वर्षपछि नाट्य गतिविधिमा रिक्तता आएको छ ।
पोखराको नाट्य गतिविधि फस्टाउनका लागि गतिलो थियटरको आवश्यकता सबैले महसुस गरेका छन् । पोखरामा नाट्य एकेडेमी स्थापनाका लागि पहल भइरहे पनि राजनीतिक परिवर्तनका कारण त्यो योजना त्यत्तिकै थन्किन पुगेको छ ।